१७ फाल्गुृण । महोत्तरी जिल्ला मा आजबाट यस बर्षको अनौपचारिक शिक्षा तथा निरन्तर सिकाइ कार्यक्रम शुरु भएको छ । श्री जनता मा.वि. गौरीडाँडामा आयोजित एक कार्यक्रम विच महोत्तरीका जिल्ला शिक्षा अधिकारी ठुलोबाबु दाहालले मैनबत्ती बालेर कार्यक्रमको उदघाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारी श्री ठुलोबाबु दाहालले शिक्षाको आवश्यकता र जिल्ला शिक्षा कार्यालय महोत्तरीले साक्षरताका लागि थालेको पहलका बारेमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । साक्षर रहनु आजको आवश्यकता भएको चर्चा गर्दैै उहाँले माध्यमिक तहमा पनि एक विद्यार्थी एक साक्षर र एक शिक्षक एक साक्षर कार्यक्रमको थालनी गरीने जानकारी दिनुभयो । त्यस्तै अतिथी शिक्षाप्रमी श्री राजनप्रसाद ढुंगानाले निरक्षरको तथ्याङ्क तत्काल अद्यावधिक गर्दै साक्षरता अधियान तिव्र रुपमा संचालन गर्न सुझाव दिनुभयो । उहाँले आफुहरु यस कार्यक्रमको सफल संचालनका लागि कुनै पनि सहयोग गर्न तयार रहेकाले सक्रिय भएर लाग्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । ढुंगानाले घुम्ती कक्षा, दिवा तथा रात्री कक्षाको संचालन गरेर भएपनि अभियान सफल पार्नुपर्नेमा जोड दिनुभयो ।
श्री जनता माध्यमिक विद्यालय गौरीडाँडाका प्र.अ. श्री नेत्रबहादुर रम्तेलले स्वागत गर्नुभएको कार्यक्रममा अनौपचारिक शिक्षा र यसको प्रभाव बारे जिल्ला शिक्षा कार्यालय महोत्तरीका श्री अरुणशंकर पाठकले कार्यक्रमको औचित्य प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरुलाई जिल्ला शिक्षा अधिकारी ठुलोवावु दाहालले पाठ्यसामाग्री वितरण गर्नुभएको थियो । श्री प्रगतिशिल सामुदायिक केन्द्र गौरीडाँडा महोत्तरीको आयोजनामा भएको कार्यक्रमको संचालन श्री लिलानाथ गौतमले संचालन गर्नुभएको थियो भने सभापतित्व श्री सुविजन पाण्डेले गर्नुभएको थियो ।
नेपाल सरकारले महोत्तरी जिल्ला वाट यस बर्ष ४४ बटा साक्षरता केन्द्रको परीचालन गरी १,७६० जनालाई साक्षर बनाउने लक्ष्य लिएको छ ।