एसएलसीमा अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ भन्दा तल्लो श्रेणीमा पर्ने विद्यार्थीले प्राविधिक विषय अध्ययन गर्न नपाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को पाठ्यक्रम विकास समितिको सोमबार बसेको बैठकले अंग्रेजी, गणित र विज्ञानमा ‘सी’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरेको हो ।
ग्रेड ‘सी’ ल्याउन ४० देखि ५० प्रतिशत हुनुपर्छ ।
‘सबै विषयको अंक जोडदा जुन समूहमा परे पनि हुन्छ,’ सीटीईभीटीका सदस्य सचिव रामहरि लामिछानेले भने, ‘तर, तीन विषयमा भने ‘सी’ श्रेणीभन्दा कम हुनु हुँदैन ।’
स्वास्थ्यतर्फको विषय अध्ययन गर्न औसत ‘सी’ ल्याउनुपर्ने प्रावधान तोकिएको छ । त्यस्तै अंग्रेजी, गणित र विज्ञानमा पनि ‘सी’ श्रेणीमा परेका विद्यार्थीलाई मात्रै सीटीईभीटीले लिने प्रवेश परीक्षामा सहभागी गराउने भएको छ । यसअनुसार नेपाली, सामाजिक, वातावरण तथा जनसंख्या शिक्षा लगायतका विषयमा ‘डी’ श्रेणीमा भए पनि अग्रेजी, गणित र विज्ञानमा ‘सी’ श्रेणी ल्याएको हुनैपर्छ ।
स्वास्थ्यतर्फ प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए), मेडिकल ल्याब टेक्नोलोजी, फार्मेसी, रेडियोग्राफी, अप्थाल्मिक साइन्स, डेन्टल, आयुर्वेद, होमियोप्याथी विषय सीटीईभीटीको आंगिक र सम्बन्धन प्राप्त कलेजमा पढाइ हुन्छ ।
सरकारले यस वर्षदेखि एसएलसी ग्रेडिङ प्रणाली लागू गर्ने निर्णय गरिसकेको छ । यो निर्णय आएपछि विद्यार्थीहरू स्वत: माथिल्लो कक्षामा अध्ययन गर्न पाउने भन्दै पढ्न छाडेको गुनासो आएको छ । सीटीईभीटीको यो निर्णयले ‘सी’ भन्दा कम श्रेणीमा पर्ने विद्यार्थीले राम्रो विषय अध्ययन गर्न नपाउने भएका छन् ।
सीटीईभीटीको आफ्नो आंगिक र सम्बन्धन प्राप्त संस्थामा यी विषय अध्ययन गर्न ‘सी’ ग्रेड ल्याएको हुनुपर्ने व्यवस्था गरेको हो ।
बाली विज्ञान, पशु विज्ञान, डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजी, डिप्लोमा इन फरेस्ट्री, होटल म्यानेज्मेन्ट, सिभिल इन्जिनियरिङ, सर्भे, कम्प्युटर, मेकानिकल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल इन्जिनियरिङ, इन्फरमेसन टेक्नोलोजी, आर्किटेक्चर इन्जिनियरिङ, अटोमेकानिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बायोमेडिकल इक्विपमेन्ट इन्जिनियरिङ अध्ययन गर्न अंग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ श्रेणी ल्याउनुपर्ने हुन्छ ।
तर, समग्रमा सबै विषयको नम्बर जोडदा ‘डी’ र ‘ई’ आए पनि केही फरक पर्दैन । उदाहरणका लागि अंग्रेजी, गणित, विज्ञान ‘सी’ श्रेणीमा हुनैपर्छ । अन्य विषयमा ए, बी, सी, डी, ई जे आए पनि हुन्छ । समग्रमा औसत ‘डी’ र ‘ई’ भए पनि स्वास्थ्यबाहेक अरू विषय अध्ययन गर्न पाउँछन् ।
एसएलसीमा समग्रमा ‘डी’ २० देखि ४० र ‘ई’ श्रेणी एकदेखि २० प्रतिशत ल्याउने विद्यार्थीले प्राविधिक एसएलसी (टीएसएलसी) कोर्स अध्ययन गर्न पाउने लामिछानेले बताए । अन्य कोर्स अध्ययन गर्न नचाहने र क्षमता कमजोर भएका विद्यार्थीले एकवर्षे प्राविधिक कोर्स गर्न पाउने व्यवस्था मिलाउने उनले बताए । सीटीईभीटीले विगतमा विभिन्न विषयमा छोटो अवधिको तालिम दिँदै आएको थियो ।
अब एसएलसीमा कमजोर भएका विद्यार्थीलाई लक्षित गरेर छोटो अवधिको कोर्सलाई एक वर्ष पढाउने व्यवस्था गरेर दक्ष जनशक्ति उत्पादन गर्न लागेको लामिछानेले बताए । ‘पढाइ सकाउनेबित्तिकै स्वदेश र विदेशमा तत्काल रोजगारी पाउने तालिम दिन्छौं,’ उनले भने, ‘यो कोर्स पढेपछि सच्चा कामदार बनाउँछौं ।’